सेतीमा पक्की पुल निर्माण गरिँदै

पाेखरा | कात्तिक ९, २०७९

सेतीमा पक्की पुल निर्माण गरिँदै

 

कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ । 


लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताउनुभयो । 


उहाँले भन्नुभयो, “पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यसै वर्षभित्र  पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।” गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो । उहाँले नै पुलको शिलान्यास गर्नुभएको थियो ।  


माछापुच्छ्रे–२ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार लागतमा पुल निर्माण गर्न हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको छ ।  पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ ७० मिटर छ ।


गण्डकी प्रदेश सरकारले पाँच वर्षको अवधिमा माछापुच्छ«ेमा दुई पक्की मोटरेवल पुल निर्माण गरेको छ भने तीनवटाको काम भइरहेको छ । माछापुच्छ«े–६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ । 


यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा समेत मोटरेवल पुल निर्माण गरिएको छ । वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुल निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्